तिनी स्नातकोत्तर थिइन्। म स्नातकमात्र थिएँ। तिनको मूल विषय समाजशास्त्र थियो। मेरो राजनीतिशास्त्र थियो। अध्ययनका यी दुई पाटामा खासै अन्तर थिएन। उनको विषयले समाजविज्ञान, समाजविकास, चरित्र हेथ्र्यो। मेरोले राजनीति संस्कृति, राजनीतिको उद्भव बिन्दु, विकासक्रम खोज्थ्यो। उनको विषयमा पनि रुसो, एरिस्टोटल, सुकरातका विचारहरू थिए। मेरोमा पनि उनैका परिभाषा थिए।
उनी एक हदकी दम्भी, अभिमानी थिइन्। हुनसक्छ उनको दृष्टिमा म पनि त्यस्तै थिएँ। उनमा मेरोभन्दा एक तहमाथिको शैक्षिक योग्यताको प्रमाणपत्र अभिमान थियो। ममा एक तहमुनिको आत्मग्लानि थियो। त्यसैले हामीमा प्रशस्त बेमेल, असामन्ज्यस्यता थिए। उनले मलाई मन पराइन्। मैले उनलाई मन पराएँ। उनको माइतीमा उनलाई मागेरै विवाह भएको थियो हाम्रो।
बिहे भएको दुई महिना भएको थियो। हामी दुवैको उमेर पच्चीस थियो। मैले विवाहपूर्व एउटा कुरा मात्र ढाँटेको थिएँ। उनी त्यतिबेला स्नातक पढ्थिन्। मैले स्नातकोत्तर पढ्दै छु भनेको थिएँ। त्यसमा उनलाई शङ्का परेको रहेछ। बिहेको पहिलो दिन अर्थात् सुहागरातमा उनले एउटा सर्त राखिन्, 'तिमी आफ्नो शैक्षिक प्रमाणपत्र मलाई देखाऊ अनि मात्र मेरो शरीर छुने अनुमति दिन्छु।'
मलाई अचम्म लाग्यो। यस्तो प्रस्ताव, सर्त कतै कहीँ कसैकी श्रीमतीले आफ्नो श्रीमान्लाई सुहागरातकै समयमा राख्छे होली त Û मैले भनेँ, 'सरिता तिम्रो सर्त अजीवको लाग्यो। तिमी नौलो सर्त राख्दै छ्यौ। यस्तो कुरामा पनि कसैले शङ्का गर्छ। तिमीलाई शङ्कै छ भने म भोलि देखाउँला। यति बेला म प्रमाणपत्र कहाँ खोजूँ ? ठूलो प्रमाणपत्र त समाजले दिइसकेको छ। तिमी श्रीमती र म श्रीमान्। यसमा पनि शङ्का छ ?' उनले भनिन्, 'समाजले कस्तो प्रमाणपत्र दियो, मलाई कुनै सरोकार छैन। त्यसमा पनि तिमीसँग कुनै लिखित प्रमाण छ ?'
'यो निमन्त्रणापत्रले के भन्छ, पढ त,' मैले भनेँ।
'त्यो त बनावटी पनि हुनसक्छ,' उनले भनिन्।
'वाहियात, त्यस्तो पनि हुन्छ,' मैले जिकिर गरेँ।
'केचाँहि हुँदैन यो समाजमा,' उनले अर्को तीर प्रहार गरिन्। ओछ्यान लगाइन्। मात्र कहाँ हो र चेतावनीको भाषा बोलिन्। भनिन्, 'मलाई छोयौ मात्र भने पनि त्यो जबरजस्ती बलात्कारको परिभाषाभित्र पर्नेछ।' हैन श्रीमान्-श्रीमतीबीच पनि बलात्कारको परिभाषा कसरी अटाउँछ ? मैले भनेँ
उनले भनिन्, 'यौन अधिकारका पुस्तक पढ।'
उनी उता सुतिन्। म यता सुतेँ। उनी उता निदाइन्, म यता निदाउन सकिनँ। ममाथि एउटा पहाड आयो मानाँै सागर विस्थापित भएर त्यहाँ सगरमाथा उभिँदै छ।
म छट्पटिएँ। उनी स्वाभाविक निद्रा निदाइन्। बत्ती निभेको थियो। उठेँ। बत्ती बालेँ। उनी सिरकले मुखै छोपेर सुतेकी थिइन्। उनको श्वासप्रश्वास सुन्दा लाग्थ्यो- उनी गाढा निद्रामा छिन्। तैपनि मलाई उनले अभिनय गरेकोजस्तो लाग्यो। उनी एउटा जीवन रङ्गमञ्चको सफल अभिनायिकाजस्ती लाग्यो। मेरो मन मानेन। बिस्तारै उनको मुखको सिरक पन्छाएँ। उनी स्वाभाविक निद्रामा थिइन् जस्तो लाग्यो।
ट्युबलाइटको चहकिलो प्रकाशमा उनको मलिन, रुमानी, ओजश्वी अनुहार हेरँे। उनका गालामा हात तानिन खोज्दै थिएँ। थाहा पाउँछिन् कि भन्ने डरले मेरा हात पन्छिएँ। अहँ, उनलाई छुन सकिनँ। म उनको हुन पनि सकिनँ। आफ्नै श्रीमतीको मुहारमा हेरेर मैले आत्मतुष्टि लिएँ। अ हो, कति सुन्दर मुहार। मलाई मेरी श्रीमती त मेकअपमा सजिएकी फिल्मी नायिकाभन्दा पनि राम्री लाग्यो।
मैले आफ्ना हातहरू रोक्न सकिनँ। मन उद्वेलित भएर आयो। अवचेतनमा यौन कुन्ठा बिउँझियो। हातले उनका गाला मुसारेँ। नरम अनुहारमा मेरा हातहरू सल्बलाउन थाले। उनको चुच्चो, बान्की परेको नाक सुस्त मुसारँे। जरक्क बोकेर आफ्नो पलङमा लैजाउँजस्तो लाग्यो। धेरैपटक झमट गरेँ। तर, अहँ सकिनँ। उनीबाट राखिएका सर्त र सम्भावित दुर्घटनाबाट म डराएँ। उनको केशराशि सुम्सुम्याएँ। उनी चटपटाउन थालिन्। बित्यास पर्लाजस्तो लाग्यो। उनीबाट हात हटाएँ। उभिएर हेरेँ। उनी अर्कोपट्ट िफर्केर सुतिन्।
म हैरान भएँ। बेचैन भएँ। सुहागरातको रोमाञ्चकतालाई आफैँभित्र दबाएँ। पछुताएँ। धत्, बुद्धि, किन मैले शैक्षिक योग्यता ढाँटेँ होला। हुन त नढाँटेको भए उनलाई बेहुली बनाउन सकिँदैनथ्यो। उनी मेरी हुन सक्दिनथिन्।
उफ, मेरी भएर पनि कसरी मेरी भइन् ? रात गहिरिँदै गयो। वातावरण विचारेँ। सन्नाटा छाएको थियो। ओल्लोपल्लो कोठामा रहेका डेरावाल सुतिसकेका थिए। एक मनले सोचेँ- जबरजस्ती गरुँ। नमाने बल प्रयोग गरुँ। केही नलागे सिध्याइदिउँ। अपराधी सोचाइलाई चेतनमनको घनले हानेर शिथिल बनाएँ। मेरो पौरुषत्व सेलायो। कोठामा यताउता गरिरहेँ।
म बालाजुतिरको फाइनान्समा 'एकाउन्टेन्ट' थिएँ। उनी गोदावरीतिरको दस जोड दुईमा अध्यापन गर्थिन्। एउटा सम्पर्क सूत्रले हामीलाई समीप गराइदियो। हामीबीच लामै समय राम्रै हिमचिम भयो। उनका बाआमाले पनि मन पराएछन्। उनले पनि मन पराइन्। सुरुमा 'तपाईं' शब्दबाट सम्बोधन सुरु भएथ्यो। पछि दुवैले 'तिमी' शब्द प्रयोग गर्न थाल्यौँ। उनी बरोबर मेरो डेरामा आइरहिन्। म उनको घरमा गइरहेँ। शैक्षिक योग्यताको कुरा चलाए उनका बाले। मैले भनिदिएँ 'डिग्री' पढदै छु।
त्यतिखेर मेरो मुखबाट फुत्किएको 'डिग्री' शब्द मेरा लागि भालुको कन्पट भयो। हो, मैले मात्र 'ब्याचलर' गरेको छु। कार्यबोझले मैले शैक्षिक योग्यता बढाउन सकिनँ। उनले कसरी थाहा पाइन् मलाई थाहा भएन।
म उनको पलङबाट टाढा भएँ। आफ्नै पलङमा सुतेँ। मरे निद्रा लागेन। छट्पटिएर रात चिप्लियो। बिहान चारै बजे ब्रस गर्न बाथरुमतिर लागेँ। र्फकंदा उनी रात्रि पोसाक फेरेर ऐनाअगाडि उभिएकी रहिछिन्।
उनको सुडोल शरीर देखेपछि म फेरि लठ्ठएिँ। पछाडिबाट अँगालो मारुँजस्तो लागेको थियो तर सकिनँ। उनले मपट्ट िफर्केर एकटकले हेरिन्, नचिनेको नवागन्तुकलाई हेरेझँै। मैले नै मुख फोरेँ, 'सरिता तिमीले अनौठो व्यवहार गर्यौ। के तिमी मसँग रिसाएकै हौ त Û'
'हैन, छैन। म रिसाएकी छुइनँ तिमीसित,' उनले भनिन्।
'अनि किन त यस्तो व्यवहार गरेको Û हाम्रो बिहे भएकोमा पनि तिमीलाई शङ्का छ ?' मैले भनँे।
'म तिम्रो एउटा शब्ददेखि रिसाएकी छु। 'डिग्री', किन 'डिग्री' गरेको भनेर मेरो बाबालाई ढाँट्यौ,' उनले भनिन्।
''डिग्री' अब पनि गर्न सकिन्छ। मेरो उमेर गएको छ र सरिता Û फेरि सरिता नाम र त्यसको अर्थ त नदी हो। नदी पनि यति सङ्कीर्ण हुन्छ र Û नदी त भेद र भेदक छुट्टयाउन जान्दैन। फेरि तिमीले मेरो 'डिग्री'सँग बिहे गरेकी हैनौ नि, मसँग गरेकी,' मैले भनँे। 'अरू मलाई केही चासो छैन। मलाई तिम्रो 'डिग्री'को सर्टिफिकेट देखाऊ। देखाउन सक्दैनौ भने जुन दिन तिमी 'डिग्री'धारी हुन्छौ त्यही दिनबाट म तिम्री श्रीमती हुन्छु। अन्यथा म तिम्री श्रीमती हुन सक्दिनँ,' उनले कडा स्वर उरालिन्। सरिता कोपुन्डोलको हाम्रो डेराबाट लगनखेल र त्यहाँबाट गोदावरीको माइक्रोबसमा दिनहुँ अध्यापन गर्न जान्थिन्। म रत्नपार्क हुँदै बालाजुको ट्याम्पु चढेर जागिर जान्थँे। बिहान खाना पकाउन उनी भ्याउँदिनथिन्। उनको बिहानको कक्षा थियो। बिहान म पकाउथेँ। आफू खान्थेँ र उनका लागि सबै कुरा राइसकुकरभित्र राखिदिन्थेँ। बेलुका मलाई ढिला हुन्थ्यो। उनी खाना पकाउँथिन्। बेलुकाको खाना हामी सँगै खान्थ्यौँ।
हामी एक-अर्कासित राम्रोसित बोल्थ्यौँ। घरायसी सल्लाह पनि हुन्थ्यो। तर, उनले मलाई आफ्नो शरीर छुन दिइनन्। कतिसम्मकी दम्भी रहिछिन् सरिता Û
एक दिन बेलुका उनी मेरासामु कड्किइन्, 'हेर, तिमीले मलाई ढाँटेका छौ। मेरा प्रोफेसर साथीहरू भन्छन् खुब समान हैसियतको श्रीमान् भेटिछेस्। हामीलाई त फूर्ति लाउँथिस् नि। अब तिमी छिट्टै आफ्नो शैक्षिक योग्यता बढाउँछौ कि बढाउँदैनौ। यदि तिमी पढ्दैनौ भने म तिमीकहाँ बसिरहन सक्दिनँ।'
मैले भनेँ, 'सरिता म छिट्टै भर्ना हुन्छु। त्यति भएपछि त तिमीलाई चित्त बुझ्ला नि।'
उनले भनिन्, 'चित्त मेरो बुझेर भएन। मेरा साथीको, यो समाजको बुझ्नुपर्यो।' मैले हारेँ। ढाँटेको प्रायश्चित गरेँ। बिहेको दुई महिनापछि म 'टीयु' सम्बन्धनप्राप्त कुनै क्याम्पसमा भर्ना हुन गएँ। म आउँदा उनी आइसकेकी रहिछिन्। खाना तयार रहेछ। मैले क्याम्पस भर्ना फारामको फोटोकपि र राजस्व तिरेको स्लिप देखाएँ। उनी खुसी भएझैँ लाग्यो। बेलुकादेखि उनी असामान्य बनेकी थिइन्। उनी आफैँ मेरोछेउमा आएर मलाई कामुकताले आह्वान गर्न थालिन्। खाना खायौँ। रात नछिप्पिँदै हामी शयन कक्षमा गयौँ। बिहेको दुई महिनापछि आकाश गर्जियो। धर्ती तात्यो। हामी आकाश धर्ती मिल्यौँ सुहागरातमा।á