पशुपतिनगर, माघ २२ गते। पूर्वाञ्चलका इलाम, पाँचथर, सुनसरीमा बर्डफ्लू रोग रहेको पुष्टि भएको छ। केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला काठमाडौँ र भेटेनरी ल्याबोरेटोरी बेलायत एजेन्सीमा पठाइएको नमूनाबाट ती जिल्लाहरूमा बर्डफ्लू भेटिएको पुष्टि भएको हो।
इलामको फाकफोक-२ का डिलबहादुर र भुवन्ती चेम्जोङ्गले पालेको कुखुराबाट लिइएको नमूनामा बर्डफ्लू भेटिएको हो। यस्तै, पाँचथर फाक्तेप-५ का घनश्याम पौडेल, हिमालसिंह तुम्रोक र हरिराम नेम्वाङले पालेको कुखुराको नमूनामा पनि बर्डफ्लू भेटिएको पुष्टि भएको छ। फाकफोकका किसानले पालेको कुखुरा मरेपछि गत माघ ५ गते बर्डफ्लू रोग परीक्षणका लागि काठमाडौँमा नमूना पठाइएको थियो।
बर्डˆलु रोग पुष्टि भएपछि प्रकोप उद्धार ऐन २०३९ को दफा ४ नियन्त्रण आदेश २०६४ अनुसार सङ्क्रमित क्षेत्र घोषणा गरिएको हो। रोग फैलन नदिन उक्त स्थानलाई चार किल्ला कायम गरिएको छ। बर्डफ्लू पुष्टि भएको स्थानको उच्च सुरक्षा गर्दै सङ्क्रमण क्षेत्रमा समेत सतर्कता अपनाइएको छ। आइतबार बिहान रोगको रिपोर्ट आएपछि रोगको सङ्क्रमण फैलन नदिन जिल्ला पशुसेवा कार्यालयका पशुचिकित्सक कुमारसिंह खत्री र राष्ट्रिय पशु निर्देशनालयका डाक्टर राजेश यादव, पशु क्वारेन्टाइन काँकडभिट्टा झापाका गणेशराज पन्थलगायतको टोली बर्डफ्लू भेटिएको क्षेत्रमा खटिएको छ।