काठमाडौँ, माघ १९ गते। संविधानसभाका विवादित विषयलाई सामान्य बहुमतले पारित गर्नेगरी संविधानसभा नियमावली संशोधनको तयारी भएको छ। यो व्यवस्था भएपछि संविधानका प्रत्येक धारालाई बहुमतले पनि पारित गर्न बाटो खुल्नेछ।
संविधान निर्माण गर्नका लागि कम्तीमा दुई तिहाई बहुमत आवश्यक पर्ने नियमावलीमा व्यवस्था भए पनि कुनै पनि दलसँग सामान्य बहुमतसमेत नरहेको अवस्थामा आगामी दिनमा विवादित विषयमा सर्वसम्मत सहमति हुन नसके बहुमतबाट भए पनि विवादका विषयलाई पारित गर्नुपर्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो।
यसै प्रयोजनका लागि संविधानसभाले पाँच सदस्यीय नियमावली संशोधन समिति यसअघि नै गठन गरेको थियो।
सो समितिको संयोजकमा एकीकृत नेकपा -माओवादी) का सभासद् अमृता थापामगर नियुक्त हुनुभएको छ। सिंहदरबारस्थित संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँगको छलफलमा थापामगरलाई संयोजकमा नियुक्त गर्ने सहमति बनेको हो। यसअघि समितिको संयोजक रहनुभएका एकराज भण्डारीलाई मातृशोक परेपछि नयाँ संयोजक चयन गरिएको हो।
समितिमा नेपाली काँग्रेसबाट रमेश लेखक, नेकपा -एमाले) बाट अग्नि खरेल, मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) बाट निलम बर्मा र नेकपा -माले) बाट जनककुमारी चालिसे सदस्य हुनुहुन्छ।