नेपालको राजधानी काठमाडौँ ऐतिहासिक र प्राचीन सहरका रूपमा पनि चिनिन्छ । हिन्दुहरूको आशा एवम् आस्थाको धरोहर आराध्यदेव पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, धरहरा, घन्टाघर, ऐतिहासिक एवम् कलात्मक दरबार र मन्दिरै-मन्दिरको देश भनेर पनि काठमाडौँलाई चिनिन्छ ।
हिजोको स्वच्छ, सुन्दर, हराभरा काठमाडौँ बढ्दो जनसङ्ख्या, अनियन्त्रित बसोबास, योजनाविनाको सहरीकरण, प्रदूषित हावापानी, खानेपानी अभाव र बिहान-बेलुका हुने लोडसेडिङले गर्दा आजको काठमाडौँ सहर कङ्कडको जङ्गल बनेको छ । काठमाडौँ उपत्यकाका तीनै जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँमा धेरै घर र सडकमा गाडीको ताँतीबाहेक अन्य कुरा देख्न सकिँदैन । पहिले-पहिले बागमती, विष्णुमतीलगायत पवित्र नदीमा नुहाए पाप नाश हुन्छ भनी स्वदेश एवम् विदेशबाट भक्तजन आई नुहाउने, पशुपतिलगायत अन्य मन्दिरको दर्शन गर्ने गर्थे तर आज बागमती, विष्णुमतीमा बगेको फोहोर पानीको दुर्गन्धबाट बच्न नदीछेऊ जाँदा रुमालले नाक छोप्नुपर्ने हुन्छ । यी नदीबाट माछा, भ्यागुतालगायत जलचर प्राणीसमेत लोप भएका छन् । अनियन्त्रित बढ्दो जनसङ्ख्याले बाटोमा मानिस ओहोर-दोहोर गरेको देख्दा कमिलाको ताँती लागेजस्तै हुन्छ । बाटोमा स्वतन्त्र भई हिँडडुल गर्न सकिँदैन । सडकमा लामबद्ध गाडी गुडिरहने हुनाले सर्वसाधारणलाई बाटो वारपार गर्न धौ-धौ पर्छ । सहरको बीचमा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाईजहाज उड्ने र अवतरण हुने हुँदा ध्वनि, वायु र पानी प्रदूषणले गर्दा यहाँ बसोबास गर्ने बासिन्दाले सास्ती भोग्नुपरेको छ ।
अतः भोलिको काठमाडौँलाई खतरामुक्त बनाउने हो भने सहरलाई व्यवस्थित गर्न सरकारले योजना ल्याउनुपर्छ । चेतनामा सुधार आउनुपर्छ । काठमाडौँलाई केन्दि्रत गरी घर बनाएर बसोबास गर्ने कारण पत्ता लगाई राज्य व्यवस्थामा सुधार गरिनुपर्छ । सडकले थेग्न नसक्ने गाडी भित्र्याउन अनुमति दिनुहुँदैन । काठमाडौँवासीलाई खानेपानीको वैकल्पिक व्यवस्था गरिनुपर्छ । बागमती, विष्णुमतीलाई स्वच्छ र सफा राख्नुपर्छ । यी कुरामा सुधार गरिएमा भोलिको काठमाडौँ सङ्कटमा पर्दैन । अन्यथा भोलिको काठमाडौँ दुर्गन्धित सहर भनेर चिनिनेछ । तसर्थ, समयमै काठमाडौँलाई व्यवस्थित बनाउन आˆनो क्षेत्रबाट सजग र सचेत हुन जरुरी छ ।
दया पाण्डे, कक्षा : ७
श्री एसओएस हर्मन माइनर स्कुल, सानोठिमी, भक्तपुर