मान्छेलाई कहिले काहीँ आˆनै पहिचानले छोपिदिँदो रहेछ । जस्तै, यतिखेर साहित्यकार मुकुन्द ढुङ्गेल बन्नुभएको छ । साहित्य लेखेर नाम कमाउने उहाँलाई सम्भिmनेहरूले परराष्ट्रका वरिष्ठ र पूर्वराजदूत मात्र भनेर सम्भिmदिए । परराष्ट्रमा र अन्य मन्त्रालयमा कैयौँ वरिष्ठ होलान्, कैयौँ राजदूत होलान् तर मुकुन्द ढुङ्गेलको खास स्थान साहित्य क्षेत्र नै हो । कुमार ज्ञवाली अर्को पात्र । जसले पूर्व राजदूत र वरिष्ठकै परिचय पाउनुभयो । उहाँ नेपाली साहित्यमा कथा उपन्यास संस्मरण विधाका उल्लेख्य स्रष्टा । यस्ता स्रष्टा मरेर गएको ४२ दिनपछि मात्र अरूले पत्तो पाए । अर्को पात्र मुकुन्द ढुङ्गेल बितेको तीन महिना नाघिसक्यो र पनि साहित्यकार मुकुन्द ढुङ्गेल बितेर गएको बारे धेरैलाई अत्तोपत्तो छैन । यसो भनौँ परिचय र राम्रो स्थान बनाएको साहित्य क्षेत्रले पनि मुकुन्द ढुङ्गेललाई बिर्सिदियो, चटक्कै बिर्सिदियो ।
प्रश्न उठ्न सक्छ, एउटा स्रष्टा बितेको तीन महिना बितिसक्दा पनि किन चर्चा भएन त ? यसको पनि जवाफ छ- यो एउटा रोग हो, क्रोनिक । चर्चा हुनुपर्नेको कम र नहुनुपर्नेको ज्यादा हुन थालेको छ त्यसैले । चर्चा सेरोफेरोमै बढी हुन्छ, हो हल्ला गरेर हिँड्नेहरूको नै बढी हुन्छ त्यसैले । त्यसैले भन्दा हुन्छ हामी लेखनमा भन्दा बढी
अर्थोकमै ध्यान दिन्छौँ, मुकुन्द ढुङ्गेलले कथा उपन्यासका कृतिहरू लेख्नुभयो त्यसैले चर्चा भएन ।
चर्चा, बढी चर्चाको खास अर्थ पनि छैन । चर्चै हुनु नपर्नेहरू उमि्रदै तीनपात झैँ चर्चाको शिखरमा पुगिसके, चर्चामा आउनुपर्नेहरू चर्चाको आधार शिविरसम्म पुर्याइएका छैनन् । जो बितेर गए, तिनको चर्चा किन गर्ने ? शायद यस्तो सोचिँदो हो । एकथरि छन्, जो बुझेभन्दा बढी बुझेजस्तो गर्छन् र आफूले बुझ्दै नबुझेको कुरो बल गरेर अरूलाई बुझाइरहेका हुन्छन् । हास्यास्पद स्थिति । प्रहसन भनौँ यसलाई । नयाँ, नयाँ पुस्ता, नयाँ सोच, आधुनिक, परिवर्तन, ट्रयाक बाहिरको नाम रटेर भएको कुरो पनि बिर्सिन थाल्दैछौँ हामी । जसले जग, इतिहास नै बुझेको छैन उसले यही नयाँ नै नाममा आफूलाई भ्रममा पालिरहेको छ र अरूलाई पनि । 'भ्रम' मेहेनत नै गर्न नपर्ने श्रम । जसलाई ठूलो स्वर र प्रचारले नै स्थापित गरिदिन्छ । यही नियतिले हो अचेल हामी बिर्सन पल्कीसकेका छौँ ।
मुकुन्द ढुङ्गेलको स्मृति गरिँदैछ । २०६८ सालको असोज २३ गते लामो समयको बिरामी -अल्जाइमर) पछि बित्नुभयो उहाँ । अल्जाइमरले उहाँले धेरै कुरा बिर्सनुभयो तर रोग -अल्जाइमर) नलागेका हामीले उहाँलाई बिर्सिदियौँ । रोग त आखिर रोग नै हो बिर्सने ।
७३ वर्षअघि काठमाडौँमा जन्मिनुभएको मुकुन्द ढुङ्गेलले २०१६ सालमै पहिलो कृति नसोचेको कुरा -कथा सङ्ग्रह) प्रकाशमा ल्याइसक्नुभएको थियो । २१ वर्षको उमेरदेखि नै कृति प्रकाशमा ल्याउने उहाँले २०१८ मा 'नयाँ मोड ः रमाइलो सफर' ०१८ 'आँखाको दुर्बिनबाट एकदिन - २०४३' जस्ता कथा सङ्ग्रहहरू र २०२२ मा 'ओरालो उकालो' उपन्यास प्रकाशमा ल्याउनुभयो । यसपछि लेखनमा निरन्तरता भए पनि कृति प्रकाशनमा उहाँ लाग्नुभएन । सरकारी सेवाको व्यस्तता र राजदूत भएर देश बाहिर बस्नुपर्दाको व्यस्तताले मुकुन्द ढुङ्गेलको साहित्यिक सक्रियता देखिएन पछि । प्रगतिशील लेखक सङ्घका सदस्य बनेर सक्रिय रहने उहाँका कथा, लेख विभिन्न पत्रपत्रिका र रेडियो नेपालबाट प्रकाशित भए प्रसारित भए । विमोचन, दोसल्ला, मिडियाको सुविधा, अभिनन्दन समूह केही नभएकोले होला मुकुन्द ढुङ्गेल चर्चामा आउनुभएन ।
"साहित्यको क्षेत्र विशाल छ र यो कुनै 'वाद' वा 'गुट' को सङ्कुचित घेरामा मात्र सीमित भएर फस्टाउन सक्दैन तर क्षेत्र विशाल भएको कारणबाट नै यो धेरै कुराहरूबाट प्रभावित भएको हुन्छ, अनि यसको कुनै कुनामा वाद र गुट बसेको देखिन्छ पनि । लेखकहरूले वाद वा गुटको सङ्कुचित घेराबाट उठी स्वतन्त्रता, मानवता र जनकल्याणको बृहत्तर दृष्टिकोण राखी साहित्यिक कृतिहरूको रचना गर्ने प्रयास गरेमा उत्कृष्ट साहित्यको विकास हुने बढी सम्भावना देखिन्छ । -२०४९।१।२ साहित्यकार परिचय र अभिव्यक्ति - ०५४)
झण्डै बीस वर्षअघिको विचार हो यो उहाँको । त्यतिबेलै गुटको सङ्कुचित घेरालाई नरुचाउने उहाँ अन्ततः त्यसैको मारमा पर्नुभयो । साहित्यजगत्ले उहाँलाई नसम्झनुको कारण यही गुटविहीन बनेर त होला । राजनीतिशास्त्रमा एम.ए. गर्ने मुकुन्द ढुङ्गेलले पढेजस्तै राजनीति नगरेर सरकारी सेवा र साहित्य सेवा गर्नुभयो । राजनीति गरेको भए शायद बढी चर्चा हुन्थ्यो कि Û
"धेरै अप्ठ्याराहरूलाई पार गरेर वर्तमान साहित्य आजको स्थितिमा आइपुगेको छ, त्यसैगरी कठिनाइ तथा कष्ट झेलेर आजका साहित्यकारहरू पनि अहिलेको स्थितिमा आइपुगेका छन् । एकातिर जुन परिस्थितिमा वर्तमान साहित्य विकसित भयो र जुन अवस्थामा आजका साहित्यकारहरूले साहित्यिक सेवा गरे वा गरिरहेका छन्, त्यसबाट म सन्तुष्ट छु भने अर्कोतिर अझ उत्कृष्ट साहित्यिक कृतिहरूको आशामा र ठूला लेखकहरूको प्रतीक्षामा मेरो असन्तुष्टि कायमै रहनेछ ।" -ऐजन)
उहाँको असन्तुष्टि एकातिर, अर्कोतिर एउटा स्रष्टालाई समयमै सम्झन नसक्ने हाम्रो साहित्यिक क्षेत्रप्रति असन्तुष्टि जनाउनु सान्दर्भिक होला । धेरै अप्ठ्याराहरू पार गरेर साहित्यिक क्षेत्रमा कथाकार र उपन्यासकारको परिचय बनाउनुभएका स्रष्टा मुकुन्द ढुङ्गेललाई लागेजस्तो रोग नेपाली साहित्यले व्यहोर्न नपरोस् । बिर्सने रोगले गर्दा हामीले धेरै स्रष्टालाई बिर्सिसक्यौँ ।