कलिलो उमेर अनि पहिलो उष्णता ... ...' यो उसले राखेकी फेसबुकको स्ट्याटस् थियो। ऊ अर्थात् मेरी श्रीमतीकी साथी। अगाडि श्रीमतीको फेसबुक ओपन थियो। म आफ्नो ल्यापटपमा अफिसको काम गर्दै थिएँ, छेवैमा श्रीमती फेसबुक चलाउँदै थिई। अर्को कोठामा फोन बजेको सुनेर ऊ फोन उठाउन गई। श्रीमतीको अनुपस्थितिमा उसको फेसबुकमा अनायसै आँखा गए। त्यहाँ उसकी साथीले यही स्ट्याटस् लेखेकी थिई। मैले नाम पढेँ र फोटो निकैबेर हेरेँ। स्मृति..., यो नाम मेरो लागि नयाँ थिएन, न त अनुहार नै बिर्सेको थिएँ तर आफ्ना ब्यस्त दिनचर्याका अगाडि यो नाम र अनुहार मेरो मानसपटलमा धमिलो भै दबिएको थियो।
फोन श्रीमतीकै थियो क्यार, अर्को कोठाबाट उसले कुरा गरेको आवाज आउँदै थियो। मैले फेसबुकको फोटोबाट आफ्नो ध्यान हटाउन सकिनँ। स्मृति आफ्ना चम्किला आँखाहरुमा मलाई तानिरहेकी थिई। मैले एकछिसम्म श्रीमतीको बाटो कुरेँ। उसको गफ हत्पति नटुंगिने कुरामा ढुक्क भएर मैले स्मृतिको प्रोफाइल खोलेँ। त्यहाँ उसका अरु पनि फोटोहरु राखिएका थिए। त्यसमध्ये कुनै कुनै धेरै पुराना देखिन्थे। ब्ल्याक एण्ड हृवाइटमा राखेकी आफ्नो एउटा फोटोमुनि उसले लेखेकी थिई, 'ओल्ड इज गोल्ड'। अनि त्यसमाथि थुपै्र कमेन्टहरु आएका थिए। म पुनः श्रीमतीको फेसबुक एकाउण्टमा फर्केँ। स्मृतिको फेसबुकमा राखिएको स्ट्याटस्ले मभित्र सुषुप्त रहेका पुराना केही यादका परत उप्किँदै गए।
स्कूलमा परिक्षाको अन्तिम दिन थियो। तेस्रो घण्टि बजेपछि मैले कापी बुझाएँ। लास्ट बेन्चमा बसेकी केटीले पनि कापी बुझाई। ऊ अरु दिन पनि मैले कापी बुझाएपछि मात्र बुझाउँथी। त्यसो हुनुमा कुनै संयोग थियो वा उसको नियत, जान्दिन। ऊ हाम्रो सेक्शनकी थिइन, कुन क्लासकी भनेर चासो पनि राखिनँ। सरले सबै कापी बटुलेर गन्नु भयो र बाहिर निस्कनु भयो। साथीहरुमा मेरो मात्र सिरियल नम्बर माथिल्लो तल्लामा परेको थियो, अरु सब भुईँतल्लामै थिए। परिक्षा सकिएकोले मन हलुङ्गो थियो। मैले मजाले आङ्ग तानेँ। कम्तीमा केही दिनका लागि अब टेन्शन भएन। उमेश 'आजको पेपर त खुवा हुन्छ' भन्दै थियो बिहान, सायद परिक्षा चाँडै सकाई बाहिर निस्किसकेको होला। म परिक्षाहलबाट बाहिर आउँदा त्यो केटी पनि निस्की। माथिल्लो तल्लामा अरु कोही थिएनन्।
परिक्षाको समयमा क्लासभित्र किताब लान पाइन्न थियो। सबैलेे क्लासबाहिर र्याकमा किताब छाड्थे। मैले पनि त्यहीँ राखेेको थिएँ। अब भोलिदेखि के गर्नेे हो, मनमनै सोच्दै मैले किताब समाएँ। त्यो केटी पनि मेरै छेउ उभिई। आफ्नो हातमाथि परेको तातो र नरम स्पर्शले झसङ्ग भएको मन सम्हाल्न नपाउँदै उसले मेरो हात तानेर आफ्नो छातीमाथि राखी। उसको छाती जोडले धड्किरहेको थियो। गाला गुलाबी थिए र कान रातो देखिन्थ्यो। सोच्दै नसोचिएको कुराले म स्तब्ध भएँ। ओठमुख सुकेर जिउ काम्यो। मुटुको ढुकढुक बढेर कानै फुट्ला झैँ भयो। वरिपरि कोही थिएनन् तैपनि लाजले नीलोकालो भएँ। मैले आफ्नो हात थुतेँ र ऊतिर हेरेँ। ऊ म भन्दा खाइलाग्दी ज्यानकी थिई। उमेरमा पनि मभन्दा अलि जेठी देखिने ऊ मलाई सर्लक्क निलुँला झैँ गरी हेरिरहेकी थिई। बघिनीको अगाडि परेको पाठो बनी उसको अगाडि निरीह उभिरहेको देखेर ऊ खितिति हाँसी। आफ्नो किताब टिपेर ऊ तल ओर्लिसक्दा पनि म भनेँ त्यत्तिकै उभिरहेँ।
"तल नआइ, किन स्ट्याच्यु बनिरहेछौ ? पेपर बिगार्यौ कि के हो ?" उमेशले माथि आइ नबोलाएको भए, खै म कतिबेर अझै त्यही अवस्थामा हुन्थेँ। "हैन," म त्यो सम्मोहनको स्थितिबाट बाहिर आएँ। मुटु अझै पनि उस्तै नराम्रैसँग धड्किरहेको थियो।
हामी तल आउँदा स्कूल कम्पाउण्डमा अझै पनि केही विद्यार्थी बाँकी थिए। दिएको पेपरमा आ-आफ्ना जवाफ भेरिफाई गरिरहेको सानो झुण्ड गेटतिर लाग्दै थियो। मैले नजानिँदो आँखाले खोजेँ, अघिनैकी केटी त्यहाँ थिइन। गेटबाहिर केही केटीहरु सडकछेउ उभिएर चटपटे खाँदै थिए। त्यसमा त्यो केटी पनि थिई, मलाई नै हेरिरहेकी। मैले उसलाई ठाडै हेर्न सकिनँ। दायाँबायाँ नजर डुलाएँ।
चटपटे खाएर उनीहरु अगाडि लागे। उमेशले यो कुरा खासै ख्याल गरेन। ऊ खाली दिउँसो हुने फुटबल म्याचको मात्र कुरा गरिरहेको थियो। मैले कस्सेर उसको हात समाएँ। पसिनाले भिजेका मेरा हात देखेर ऊ छक्क पर्यो। "तिम्रो हात कति तातो ? सन्चो छैन जस्तो छ तिमीलाई।" ऊ अलि आत्तियो।
"हैन, म ठीक छु।" हामी अगाडि बढ्यौँ, दृष्टिहरु भने घरिघरि उठ्दै साथीहरुसँग अगाडि गैरहेकी उसैलाई पछ्याइरहेका थिए।
एकछिनसम्म हामी दुबै मौन हिँडिरहृयौँ।
"भरे म्याचमा तिमी आउँछौ कि आउँदैनौ ?" उमेशको प्रश्नतिर मेरो ध्यान थिएन। म अझ पनि लठ्ठएिकै थिएँ। हत्केलामा नरम स्पर्श बाँकी थियो। जिउभरी उमि्रएका काँडाहरु बसिसकेका थिएनन्।
"ती अगाडि जाने केटीहरु चिन्छौ ?" छुट्टनिे दोबाटोनिर आइपुग्दा मैले उल्टै उमेशलाई खुसुक्क सोधेँ। "ए, अँ बुट्टावारीतिरका हुन्।" उसले सहज उत्तर दियो। मनभित्र प्रश्नका धेरै झिल्का राखेर म छुट्टएिँ।
परिक्षापछिको बिदामा पोखरा जाने कुरा थियो, ज्वरोले दुईदिन थलिएँ, जानै पाइनँ। त्यो ज्वरो थियो वा अनुभूतिको उन्माद, दुईदिनसम्म रन्केको जिउमा मैले अरु केही गर्नै सकिनँ। जबजब पनि घटना सम्झन्थेँ, जिउभरि करेन्ट दौडन्थ्यो। हातबाट शुरु भएको गर्मी सम्पूर्ण शरीरभरी फैलिन्थ्यो, त्यसपछि चिम्लिएका आँखा खोल्नै मन लाग्दैनथ्यो। बन्द आँखाभित्र पनि ऊ मेरो हात तानेर आफ्नो शरीरभरी दलिरहन्थी र म सिरिङ्ग हुँदै आत्तेर आँखा खोल्थेँ। मैले यो कुरा उमेशलाई भनिनँ। उमेश त के, कसैलाई पनि भन्ने कुरै भएन।
हप्ता दिनको बिदा छिनमै सकियो। स्कूलमा फेरि चहलपहल शुरु भयो। क्लास शुरु भएको दुईदिनसम्म स्कूल हाताभरी त्यो अनुहार कतै देखिनँ। भय मिश्रति कौतुहलताले गाँजिरहृयो। स्कूलमा त्यही अनुहार खोजिरहेँँ। तेस्रोदिन मेरो खोजाइमा विराम लाग्यो। टिफिनब्रेकमा जिज्ञासाबस् दश क्लासका सेक्शनहरु चहार्दै हिँडेको थिएँ। "स्ट्याच्यु।" आफ्नो पछाडिबाट आएको मन्द आवाज सुनेर मेरा पाइला टक्क अडे। ऊ आफ्नो क्लासको ढोकामा अडेसिएर मलाई हेर्दै थिई। उसका दृष्टि तीखा सुइरा झैँ ममाथि गडिरहेका थिए। घण्टी लाग्यो र म बचेँ। हैन भने संकोच र सम्मोहनको स्थितिमा मैले पाइला चाल्नसम्म पनि सकेको थिइनँ। म दौड्दै क्लासमा फर्केँ। उमेश मलाई खोज्दै थियो।
"खाजा खानु पर्दर्ैन ? कहाँ पुगी आयौ ?"
"लाइबे्ररी, " सजिलै ढाटेँ मैले। मेरो फुलेको सास र खाली हात देखेर उमेशले पत्याएन पनि होला।
"क्लास टेनका कति जना केटीहरुको नाम तिमीलाई थाहा छ उमेश ?" ऊ मेरो प्रश्नले छक्क पर्यो।
उसको नाम स्मृति रहेछ, उसका साथीहरुले बोलाउँदै गरेकाले पछि एकदिन थाहा पाएँ। नाम थाहा पाएपछि मभित्र टुसाएको ऊप्रतिको आकर्षण झन् गहिरो हुँदै गयो। ऊबारे जिज्ञासाहरु घनिभूत हुँदै गए।
स्कूल आउँदाजाँदा अधिकांश समय म आफ्ना साथीहरुसँगै हुन्थेँ। टिफिनब्रेकमा बाहिर आउँदा कहिलेकाहीँ एक्लै र समूहमा भेटिँदा पनि स्मृति मलाई घुरेर हेर्थी। एकनास गहिरोसँग हेर्ने उसका तीखा दृष्टिहरुले मलाई धुजाधुजा च्याती निर्वस्त्र गरेझैँ लाग्थ्यो। त्यही भएर मलाई ऊसँग भन्दा उसको दृष्टिदेखि डर लाग्थ्यो। साथीहरुकोवीचमा लुक्दै, छेलिएर तैपनि उसलाई हेर्नबाट भने म आफूलाई रोक्न सक्दिनथेँ।
एकदिन किताब फर्काउन लाइब्रेरी जान लागेको थिएँ, ऊ कहाँबाट हो फुत्त मेरो अगाडि देखा परी। "कहाँ हिँड्न लागेको ?" उसले जानी जानी सोधेकी प्रश्नमा मेरो सातो गयो। म रातो मुख लाएर उभिएँ। ऊ केही नबोली फर्की। सायद मेरो अबोधपनामा ऊ खिन्न पनि भईर्। त्यो दिन पहिलो चोटि उमेशलाई स्मृतिले जिस्काएकी कुरा सुनाएँ। उसले यो कुरालाई हल्का लियो,"ऊ जसलाई पनि जिस्काउँछे तर कसैले उसलाई जिस्काएमा भित्तै पुर्याउँछे रे, ख्याल गर्नू।"
म डराएँँ। एक त आफ्नै संकोच, अर्को स्मृतिभन्दा सानो भएको हीनताबोधले ऊसँग सम्बन्ध बढाउन पहल गर्न सकिनँ। त्यो मात्र हैन, स्कूल पि्र्रन्सिपलको छोरो भएको कारणले पनि म आफ्नो र बुवाको छविप्रति बढी सजग थिएँ। त्यो दिनदेखि स्मृतिले बोल्ने कोशिस चैँ गरिन। ऊसँग देखादेखभन्दा बढी सम्बन्ध लम्बिन सकेन मेरो। जे भए पनि मेरो कलिलो मनमा उसले अचानकै हलचल ल्याएकी थिई।
उसको एस.एल.सी.सकिएपछि भने हाम्रो देखादेख पनि टुट्यो। उसले कहाँ र के पढी, थाहा पाउन सकिनँ। कसैले भन,े ऊ काठमाण्डौ गई। मेरो पनि एस.एल.सी.को चिन्ता थियो। स्कूल, ट्युसनको टेन्शनमा स्मृति अलिकति ओझेलमा परी। एस.एल.सी.सकियो।
दाइले साइन्स पढ्नु भएको थियो, मैले पनि त्यही अनुशरण गरेँ। आइ.एस्सी धरान र बी.एस्सी. मेची क्याम्पसबाट पास गरेँ। ठूल्दाइ काठमाण्डौमै हुनुहुन्थ्यो। त्यसपछि हत्केलाभरि तातो साँचेर म काठमाण्डौ आएँ। ठूल्दाइकोमा बस्दै मैले शंकरदेव क्याम्पसबाट एम.बी.एस. गरेँ। बाल्यकालको कठोर अनुशासनबाट टाढा क्याम्पसका निरज, याम र चन्द्रका उन्मुक्त संगतले मलाई आफ्नो संकोचको घेराबाट धेरै हदसम्म बाहिर आउन सिकायो। मैले केटीहरुलाई जिस्काउन जानेँ, उनीहरुसँग धक नमानी कुरा गर्न सिकेँ, उनीहरुलाई साथी बनाउन सकेँ तर हत्केलाको गर्मीले पग्लिएको मनको सानो कुनो अझै पनि भरिएको थिएन।
कुरैकुरामा एकदिन साथीहरुबाट थाहा पाएँ स्मृतिले बिहे गरिछ त्यो पनि आफूभन्दा पाँच वर्ष कान्छो केटासँग। हत्केलाको गर्मी केही चिसियो। यो उसको मामला थियो, उसको स्वतन्त्रता, त्यसमा हनन् गर्ने अधिकार मसँग थिएन तर म आफ्नो तर्फबाट सोच्न सक्थेँ र मेरो कल्पनामा कोही अंकुश लगाउन सक्दैनथे। बितेका धेरै बर्षहरुले पनि हत्केला चिस्याएन। हत्केलामा बसेको तातो स्पर्शको अनुभूतिभित्र स्मृति बसिरही। बन्द आँखाबाट बिगतको सानो टुक्रामा प्रत्येक पटक चियाउँदा त्यो पल ताजा हुन्थ्यो र जिउ धक्क फुल्थ्यो। स्मृति नरम स्पर्शले घुरिरहन्थी।
एक दिन उमेशले सुनायो, "स्मृतिले आफ्नो श्रीमान्लाई डाइवोर्स गरी रे।" म छक्क परेँ। "त्यस्ती मापाकी केटीले श्रीमान् के सहन्थी होला र ?" ऊ हाँस्यो। मुटु हल्का काम्यो मेरो। दोहोर्याएर उमेशलाई हेर्न सकिनँ मैले। ऊ कहाँ छे भनेर सोध्न खोजेको प्रश्न मनैभित्र दबाएँ। 'काठमाण्डौ सानो छ, कुनै दिन त ऊसँग जम्काभेट कसो नहोला ?', हत्केलाको तातो मुटुमा सर्यो, हल्का करेन्ट लाग्यो र मन तरङ्गयिो।
"हैन, मेरो फेसबुक अघि के गर्दै हुनुहुन्छ ?" श्रीमती फोनमा कुरा टुङ्गयाएर कतिबेला आई, चालै पाइनँ। "स्मृतिले फोन गरेकी। भोलि घर आउँछु भन्दै थिई। " मनिर बस्दै उसले भनी।
"कहिलेदेखिको साथी हो स्मृति तिम्रो ?"
"धेरैभा'को छैन तर निकै इन्टिमेट बनिसक्यौँ। भोलि टीनएज सेक्रेट पनि बताउँछु भन्थी।" श्रीमती ओठभरि रहस्य पोतेर मुस्काई। "के होला, गेस गरौँ न ?"
"तिम्रा साथीहरुका के कस्ता सेके्रट हुन्छन्, मलाई थाहा हुन्छ र ? "
"हरेक मान्छेका सेक्रेट हुन्छन् रे नि।" श्रीमतीले मलाई छड्के हानी।
"के नचाहिने प्रसङ्ग लिई बसेकी।" झसङ्ग भएँ। मैले उसको अनुहारमा हेर्न सकिनँ। गएर बेडमा पल्टेँ। एकछिनमा ऊ पनि आइपुगी। बत्ती निभाएर बेडमा मसँग टाँसिई र मेरो हात उठाएर आफ्नो छातीमाथि राखी, त्यही हात, जसभित्र अर्ध विकसित नरम स्पर्शको तातो थियो। श्रीमती त मेरो अंंगालोभित्र निदाइहाली, म सुत्न सकिनँ। बीचमा स्मृति थिई, म उसलाई हटाउन सकिरहेको थिइनँ।