सयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानमा आधा शताब्दी लामो इतिहास रचेको नेपाली सेनाको श्री गरुड दलले दुई साताअघि क्यारेवियन मुलुक हाइटीमा 'मिसन' सुरु गरेको छ। सन् २००४ मा राष्ट्रसङ्घले स्थापना गरेको 'हाइटीमा शान्ति तथा सुव्यवस्था स्थापनाका लागि राष्ट्रसङ्घीय अभियान -मिनुस्ता) अन्तर्गत नेपाली सेना खटिएको छ। प्रत्येक ६ महिनामा आलोपालो गर्नुपर्ने नियमअनुसार श्री गरुड दलले यसअघिको श्री नयाँ गोरख दललाई पालो दिएको छ। राजधानी पोर्ट ओ पि्रन्समा अवस्थित चार्ली क्याम्पभित्र रहेको नेपाली गणलाई 'नेपब्याट' भनिन्छ।
सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको नेपालले तीन वर्ष पछि नै अर्थात् सन् १९५८ मा शान्तिसेनामा सहभागी हुने मौका पायो। युद्ध होस् या शान्ति दुवै अभियानमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण देखिन्छ। हाइटीमा कार्यकाल परा गरेको गणपति शम्भुकुमार गुरुङ भन्नुहुन्छ, ''नेपाली सेनालाई जस्तोसुकै जिम्मेवारी दिए पनि सहज र सरल ढङ्गले पूरा गर्छ। नभन्दै हाइटीमा तैनाथ नेपाली सेनाले आफूलाई प्राप्त जिम्मेवारी बडो इमानदार एवम् प्रभावकारी ढङ्गले पूरा गरेको अनुभव गर्न पाइन्छ। राष्ट्रसङ्घ र नेपाली सेना
दोस्रो विश्वयुद्धपछि लिग अफ नेसनबाट युनाइटेड नेसनमा रूपान्तरण भएयता शान्ति अभियानलाई मुख्य लक्ष्य बनाइयो। विश्वका धेरै मुलुकले सयुक्त राष्ट्रसङ्घलाई विश्वास गर्ने क्रम बढेपछि नेपाल पनि यसको सदस्य भयो। नेपाली सेनाको वीरताको इतिहासबाट विश्व परिचित भएकाले नै लगत्तै शान्तिसेनामा सहभागी हुने मौका पठायो। विगत ५४ वर्षदेखि राष्ट्रसङ्घीय शान्ति अभियानमा निरन्तर सक्रिय नेपाली सेना आज पनि सबैका लागि पि्रय मानिन्छ। सन् १९५८ मा नेपाली सेनाले पहिलोपटक लेबनान मिसनमा पाँच सैनिक पायो। त्यसपछि सन् १९७४ मा इजरायलमा नेपाली सेना तैनाथ भयो। त्यसयता नेपाली सेना विश्वका प्रायः हरेक शान्ति मिसनमा खटिएको छ। नेपाली सेनाको शान्तिसेना निर्देशनालय प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नुभएका मेजर जनरल बलदेवराज महतका अनुसार हालसम्म नेपाली सेनाका झन्डै ९० हजारले विभिन्न ३६ स्थानमा राष्ट्रसङ्घीय छातामुनि काम गरेका छन्। अहिले २० हजार आठ सय ७३ नेपाली सेना विश्वभर यस अभियानमा फैलिएका छन्। सङ्ख्यात्मक हिसाबमा हाल नेपाल शान्तिसेनाका नवौँ स्थानमा रहेको छ। यसक्रममा हालसम्म ५८ ले वीरगति प्राप्त गरेको र ५८ जना नै घाइते भएको मेजर जनरल महतले बताउनुभयो।
हाइटीमा नेपाली सेना
राजनीतिक अस्थिरताले चापेपछि छिमेकी अमेरिकाले सैन्य निगरानी बढाउन थालेको हाइटीमा सन् १९९० को दशकमा ठूलो फेरबदल भयो। त्यही वर्ष राष्ट्रपतीय निर्वाचन गराउन भन्दै संयुक्त राष्ट्रसङ्घको उपस्थिति भयो। राजनीतिक सङ्कट गहिरिने क्रममै सन् १९९४ मा तत्कालीन राष्ट्रपति एरिस्ट्राइडले राष्ट्रिय सेना भङ्ग गरेपछि बहुराष्ट्रिय सेना उपस्थित भयो। सन् १९९३ र ९४ मै नेपाली सेना यहाँ तैनाथ भइसकेको थियो। सन् २००४ जुन १ तारिखमा संयुक्त राष्ट्रसङ्घले हाइटीमा 'मिनुस्ता' स्थापना गरी बहुराष्ट्रिय सेना खटाउने निर्णयसँगै नेपाली सेना सक्रिय छ। सन् २००७ जनवरी २१ मा लाइट इन्फेन्ट्री बटालियन राजधानी पोर्ट ओ पि्रन्समा थपियो। यी दुवै गणबाट कुल १३ हजार ३ सय ३४ नेपाली सेनाको सहभागिता पुगेको छ। हाइटीमा यतिखेर विभिन्न १९ मुलुकका सेना र ४२ मुलुकका प्रहरी खटिएका छन् जसमध्ये बङ्गलादेश पहिलो को स्थानमा छ भने नेपाल पाँचौँबाट नवौँमा पुगेको छ। सन् २०१० मा हाइटीमा हैजा फैलिएपछि 'मिनुस्ता' अन्तर्गतका शान्तिसेनाको आकार खुम्च्याउने नीतिले नेपाल पनि प्रभावित भएको छ।
सङ्क्षेपमा हाइटी
विकासको ठूलो सम्भावना बोकेको हाइटी नेपालभन्दा आकारमा धेरै सानो छ। यसको कुल क्षेत्रफल २७ हजार ७५० वर्ग किलोमिटर छ। कुल भूभागको ७० प्रतिशत पहाडले ढाकेको छ, जनसङ्ख्या करिब एक करोड छ। प्रशासनिक रूपले १० भागमा विभाजित हाइटीमा राजनीतिक अस्थिरता र दैवीप्रकोपले दरिद्रता बढाएको छ। सन् १४९२ मा क्रिस्टोफर कोलम्बसले यो टापु पत्ता लगाएका हुन्। उनले यसलाई 'हिस्पानोयोला' अर्थात् सानो स्पेन नामकरण गरे। सन् १६९७ मा स्पेनले हिस्पानियोलाको पश्चिमी भाग प|mान्सलाई दिएपछि यसलाई 'हाइटी' अर्थात् पहाडी भूमि भनिएको हो। प|mान्सले उपनिवेश बनाएको यहाँ अपि|mकी मुलुकका दास ल्याएर प्राकृतिक सम्पदाको चरम शोषण गरेको थियो। यहाँका आदिवासी नै तिनै काला जाति भए। तर, उनीहरूले सन् १८०४ मै प|mान्सेली शासकविरुद्ध आन्दोलन गरी मुलुकलाई स्वतन्त्रता प्राप्त गरे।
यसैक्रममा सन् १९५६ मा सैन्य विद्रोहमार्फत भुडु फिजिसियन प|mान्कोस डुवालियर 'पापा डक' सत्तामा आएर आफूलाई आजीवन राष्ट्रपति घोषणा गरे। त्यसपछि नै यहाँ राजनीतिक द्वन्द्व सुरु भयो। यो क्रम अहिले पनि जारी छ। छिमेकी अमेरिकाले आˆनो शत्रु 'क्युबा' लाई लक्ष्य गरी हाइटीलाई सामरिक महत्त्वको भूमिका रूपमा हेरेको छ। तर, यहाँको विकास निर्माणतर्फ चाहिँ खासै ध्यान दिएको पाइन्न। सन् २०१० मा चर्चित पप गायक मिचेल माट्र्ली अर्थात् 'स्वीट मिक्की' हाइटीका राष्ट्रपति चुनिएका छन्।
नेपब्याटको जिम्मेवारी
सन् २००४ मा नेपाली सेना अर्थात् नेपब्याटले राजधानीभन्दा ४० किमि टाढा टेररुज भन्ने ठाउँमा विद्रोही 'एक्स फाद' ले नियन्त्रण गरेको क्याम्प खाली गरी कब्जा जमाएको थियो। तर, अहिले त्यो खारेज भएको छ। अहिले नेपब्याट राजधानीस्थित चार्ली क्याम्पमा सीमित छ। तर, यहाँ तैनाथ नेपाली सेनाको जिम्मेवारी भने गहन छ। नेपब्याटले राजधानीका प्रमुख तथा महत्त्वपूर्ण क्षेत्रको सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रहरीलाई भरथेग गर्ने जिम्मेवारी पूरा गर्छ। कसैलाई पक्रने, थुन्ने, कारबाही गर्ने काम मिनुस्ताको होइन तर, शान्ति सुव्यवस्थामा खलल पुर्याएको अवस्थामा भने आक्रमक गतिविधि सञ्चालन गर्न पाउँछ। नेपब्याटले राजधानीका प्रमुख तथा संवेदनशील क्षेत्रको निगरानी गर्छ जसमा राष्ट्रपतिनिवासदेखि अमेरिकी तथा युरोपेली मुलुकका दूतावास रहेको क्षेत्र पनि पर्छ। हाल नेपब्याटमा तीन सय ५० सहभागी छन्।
मिनुस्ता स्थापना हुँदा तीनवटा मात्र कार्यक्षेत्र रहेकोमा सन् २०१० पछि राष्ट्रसङ्घले एक कार्यक्षेत्र थपेको छ। महाभूकम्प आउनुअघि रहेका तीन जिम्मेवारीमा सुरक्षित तथा स्थिर वातावरण बनाउनु, राजनीतिक प्रक्रिया मिलाउनु र मानवअधिकारको रक्षा गर्नु थियो। महाभूकम्पले जनजीवन प्रभावित भएपछि 'मानवीय सहयोग उपलब्ध गराउनू' भन्ने कार्यक्षेत्र थपिएको छ। यसअन्तर्गत आन्तरिक रूपमा विस्थापित भएका विभिन्न १९१ आन्तरिक शरणार्थी क्याम्पमा नेपब्याटले राहत सामग्री वितरण, स्वास्थ्य शिविर सञ्चालन गराउँदै मानवीय सहयोग उपलब्ध गराउँदै आएको छ। यसबाट प्रभावित भई स्थानीयले नेपाली सेनालाई गाह्रो साँघुरो पर्दा तत्काल बोलाउने र नेपब्याटले सकेको सहयोग तत्काल उपलब्ध गराउने गरेको छ ।
नेपालको परिचय
हाइटीसँग दौत्य सम्बन्ध स्थापनाअघि नै नेपाली सेनाले राष्ट्रसङ्घीय शान्ति अभियानअन्तर्गत साइनो जोडिसकेको थियो। सन् १९९३ र ९४ मै यही नेपाली सेना तैनाथ भइसकेको थियो। २००४ मा दौत्य सम्बन्ध स्थापना हुनुअघि नै हाइटियन जनताले नेपाललाई जानिसकेका थिए। आन्तरिक शरणार्थी शिविरका मानिस सकेसम्म नेपाली सेनामार्फत सहयोग लिन इच्छुक देखिन्छन्। यसैक्रममा स्थानीय काराडेक्स शिविरका जन बाल्टिस्टे हर्नसका अनुसार नेपाली सेना जति लोकपि्रय मिनुस्तामा अरू छैन। उता मिनुस्ताअन्तर्गत काम गर्ने अन्य देशका सेना पनि नेपालीसँग काम गर्न सहज ठान्छन्। गणपति गुरुङका अनुसार नेपाली सेनासँग काम गर्न सबै इच्छुक हुन्छन्, जब कि भारतीय, बङ्गाली, ब्राजिलियन वा पेरुवियनबीच मेल पटक्कै हुँदैन। कारण के होला त ? गणपति गुरुङ भन्नुहुन्छ, ''नेपालीको स्वभाव नै जस्तोसुकै परिस्थितिमा सबैसँग मिलेर काम गर्ने भएकाले यस्तो भएको हो। नेपालीसँग परिचित नभएकालाई समेत नेपाली सेनाको व्यवहारले तान्ने गर्छ। यसरी हाइटीमा नेपाली सेनाले कूटनीतिज्ञको भूमिकासमेत निर्वाह गरेको पाइन्छ।
हैजा प्रकरण र नेपाल
बेलाबेलामा दैवी विपत्तिमा पर्ने हाइटीमा सन् २०१० को महाभूकम्पलगत्तै अर्को दशा आइलाग्यो हैजाको। उक्त महामारी फैलनुमा विदेशी सेना त्यसमा पनि नेपाली सेनालाई मुछ्न खोजियो। यद्यपि, प्रत्यक्ष नेपाल संलग्न नभने पनि घुमाएर आरोप भने लगाइयो। त्यसैलाई आधार बनाएर मिनुस्ताले नेपाललगायत जोर्डन, ग्वाटेमाला, ब्राजिल र उरुग्वेलगायतको शान्तिसेना कटौती गर्यो। हैजाका कारण सात हजारभन्दा बढीको ज्यान गयो। यस्तो अवस्थामा पनि नेपाल सरकारले त्यसको खण्डन गर्नु प्रभावकारी उपाय अवलम्बन गरेन। यसलाई खण्डन गर्ने दायित्व पनि हाइटीमै तैनाथ नेपाली सेनाले गर्यो। यो नेपालका लागि लज्जाको विषय थियो तर सरकारी संयन्त्रले त्यसको महत्त्व बुझेन, मिनुस्ताअन्तर्गत कार्यरत नेपाली इन्जिनियर प्रकाश न्यौपानेले भन्नुभयो। हाइटीमा नेपालीलाई हैजाको पर्यायका रूपमा स्थानीय सञ्चारमाध्यम, राजनीतिज्ञ तथा गैरसरकारी संस्थाले प्रचार गर्दा समेत सरकारले बेवास्ता गरेको अनुभव गर्नुपरेको थियो। अहिले भने बिस्तारै स्थिति फेरिएको छ। हैजा फैलनुमा नेपाल कारक होइन भन्ने कुरा विभिन्न कोणबाट पुष्टि भएपछि नेपालको छवि सपि्रएको छ।
नेपाल र नेपालीको इज्जत, प्रतिष्ठा जोगाउने काम प्रत्येक नेपालीको हो। तर, यसको नेतृत्व भने राजनीतिक तहबाटै हुनुपर्छ। खासगरी हाइटी हैजा प्रकरणमा नेपाली सेनाले भोग्नुपरेको तिरस्कार र हेयको वातावरण न्यून गर्न नेपाली उच्च अधिकारीको ध्यान गएन जसले गर्दा ठूलो सङ्ख्यामा नेपाली सेनाको सङ्ख्या कटौती भयो। यस्तो संवेदनशील विषयमा सरकारको तर्फबाट ध्यान पुग्दा मुलुकलाई धेरै अर्थमा फाइदा हुने थियो।