काठमाडौँ, जेठ १६ गते। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राजनीतिक दलहरूबीच हुने राष्ट्रिय सहमतिले मात्रै संवैधानिक एवं राजनीतिक सङ्कट समाधान हुने ठहर गरेको छ।
सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बसेको बैठकले चारबुँदे निर्णय गर्दै यस्तो ठहर गरेको हो।
यसैगरी, काँग्रेस बैठकले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल आˆनो पदबाट राजीनामा दिनुपर्ने माग गर्दै त्यसका लागि शान्तिपूर्ण सङ्घर्षमा जाने निर्णयसमेत गरेको छ।
बैठकको निर्णयमा भनिएको छ, 'शान्ति र लोकतन्त्रको पक्षमा एकजुट भई सङ्घर्षका कार्यक्रमहरूमा सहयोग तथा सहभागिता जनाउन आमनेपाली जनतासमक्ष नेपाली काँग्रेस अपिल गर्दछ।'
जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने षडयन्त्रविरुद्ध सङ्घर्षका विभिन्न कार्यक्रम देशव्यापी रूपमा परिचालन गर्ने निर्णय गर्दै काँग्रेसले अन्य दलसँग मिलेर जाने
जनाएको छ।
बैठकमा सहभागी नेताहरूका अनुसार बैठकले पार्टीका सम्पूर्ण निकाय र भ्रातृ तथा शुभेच्छुक सङ्घसंस्थाहरूलाई सक्रियतासाथ सङ्घर्षमा उत्रन आहृवानसमेत
गरेको छ।
बैठकले संविधानसभाबाट संविधान बन्न नसक्नुमा एनेकपा -माओवादी)लाई जिम्मेवार ठहराउँदै भनेको छ, 'नियोजित रूपमा सत्ता कब्जाका नियतले निर्वाचित ऐतिहासिक संविधानसभाको हठात् अवसान भएको छ।'
सरकारले एकलौटी गरेको निर्वाचन घोषणाले देशलाई गम्भीर संवैधानिक र राजनीतिक सङ्कटतर्फ धकेलेको छ भन्दै काँग्रेसले सरकारको यो कदम असंवैधानिक, प्रतिगामी र निरङ्कुश भएको आरोप
लगाएको छ।
काँग्रेसको निष्कर्ष छ, 'वर्तमान प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई सत्तामा रहिरहने कुनै संवैधानिक र राजनीतिक आधार नभएकाले प्रधानमन्त्रीले तत्काल राजीनामा गरी सत्ता छोड्नुपर्दछ।'
दलित, महिला, आदिवासी, जनजाति, मधेसीलगायत सबै वर्ग, क्षेत्र, जाति, लिङ्ग, पेसा, व्यवसायका आमनेपाली जनताको चाहना संविधानसभाबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण गरी पूरा गर्न सकिन्छ भन्ने नेपाली काँग्रेसको दृढ मत रहेको पनि काँग्रेसले दोहोर्याएको छ।
यसैगरी, बैठकले सर्लाही जिल्लामा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको भवनमा अराजक तìवहरूले आगो लगाएर अत्यन्त ठूलो क्षति पुर्याएको उल्लेख गर्दै त्यसरी आगो लगाउनेहरूलाई पक्राउ गरी तुरुन्तै कारबाही गर्न सरकारसँग माग गरेको छ।
मङ्गलबारको बैठकमा उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, दीपकुमार उपाध्याय, डा. नारायण खड्का, मीना पाण्डे, सुजाता कोइराला, पद्मनारायण चौधरी, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, आमोदप्रसाद उपाध्याय, अजयकुमार चौरसिया, धनराज गुरुङ, पुष्पा भुसाल, शङ्कर भण्डारी, बद्री पाण्डे र केशवकुमार बुढाथोकीलगायतले आˆनो धारणा राख्नुभएको थियो।